काठमाडौँ–३ मा महासंग्राम : कुलमान भर्सेस ‘बालेन कार्ड’ र पुराना दल

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–३ यसपटक पनि रोचक प्रतिस्पर्धाको केन्द्र बन्ने देखिएको छ। कांग्रेस–एमालेको परम...

काठमाडौँ–३ मा महासंग्राम : कुलमान भर्सेस ‘बालेन कार्ड’ र पुराना दल

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर–३ यसपटक पनि रोचक प्रतिस्पर्धाको केन्द्र बन्ने देखिएको छ। कांग्रेस–एमालेको परम्परागत पकड रहेको यस क्षेत्रमा नयाँ र पुराना राजनीतिक शक्तिबीच कडा भिडन्त हुने संकेत देखिएको हो।

काठमाडौँ–३ मा २४ जना उम्मेदवार चुनावी मैदानमा छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ, नेकपा एमालेका रामेश्वर फुयाल, नेपाली कांग्रेसका रमेश अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे, नेकपा का निरज लामा र राप्रपाका डा. सुन्दरसिंह बोहरासहित विभिन्न दलका १८ जना र ६ जना स्वतन्त्र उम्मेदवार प्रतिस्पर्धामा छन्।

यो निर्वाचन क्षेत्र केवल राजनीतिक हिसाबले मात्र होइन, शिवपुरीको काख, बाघद्वार र सुन्दरीजलजस्ता पानीका मुख्य मुहान समेटिएको क्षेत्रसमेत हो। उपत्यकाको ठूलो जनसंख्याको खानेपानी यही क्षेत्रबाट आपूर्ति हुने भए पनि स्थानीय बासिन्दा अझै खानेपानी, ढल, सडक र फोहोर व्यवस्थापनको समस्यामा छन्। यी विषय यसपटकका मुख्य चुनावी मुद्दा बनेका छन्।

कुलमानको राजनीतिक ‘डेब्यु’

पहिलो पटक प्रत्यक्ष राजनीतिक प्रतिस्पर्धामा उत्रिएका कुलमान घिसिङले काठमाडौँ–३ बाट चुनावी डेब्यु गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहँदा लोडसेडिङ अन्त्य गरेपछि उनी आम नागरिकबीच लोकप्रिय बनेका थिए। त्यही लोकप्रियताको बलमा उनी उज्यालो नेपाल पार्टीको नेतृत्व गर्दै चुनावी मैदानमा होमिएका हुन्।

घिसिङ बौद्ध क्षेत्रका बासिन्दा हुन्। काठमाडौँ–३ अन्तर्गत बौद्ध, जोरपाटी, कागेश्वरी मनोहरा र गोकर्णेश्वर क्षेत्रमा तामाङ, लामा र शेर्पा समुदायको उल्लेख्य बसोबास छ। समुदायगत समर्थन र व्यक्तिगत लोकप्रियताले उनलाई बलियो दाबेदार बनाएको विश्लेषण छ। तर परिवर्तन चाहने मतदाता उज्यालो नेपाल र रास्वपाबीच विभाजित हुने सम्भावनाले उनको बाटो सजिलो भने छैन।

रास्वपाको ‘बालेन कार्ड’

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहको लोकप्रियता उपयोग गर्दै राजुनाथ पाण्डेलाई उम्मेदवार बनाएको छ। नगर प्रहरी प्रमुखका रूपमा फुटपाथ व्यवस्थापन र अतिक्रमण हटाउने अभियानबाट चर्चामा आएका पाण्डे बालेनको ‘कोटाबाट’ मैदानमा उत्रिएको चर्चा छ।

पाण्डेको सबल पक्ष रास्वपाको लोकप्रिय मत र बालेनको क्रेज हो भने कमजोर पक्ष स्थानीय नहुनु हो। संगठन र व्यक्तित्वको प्रभावले त्यो कमजोरी कति ढाक्छ भन्ने मतदाताले तय गर्नेछन्।

एमालेका अनुभवी फुयाल

नेकपा एमालेबाट रामेश्वर फुयाल पाँचौँ पटक चुनावी प्रतिस्पर्धामा छन्। स्थानीय राजनीतिमा चार दशकभन्दा बढी समय बिताएका फुयाल दुई पटक गाविस अध्यक्ष, संविधान सभा सदस्य र बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भइसकेका छन्। ग्रासरुट तहमा उनको बलियो पकड र विकास निर्माणमा सक्रियता उनको मुख्य आधार मानिन्छ।

तर २०७९ को निर्वाचनमा एमाले उम्मेदवारको हार र पार्टीभित्रको आन्तरिक समीकरण व्यवस्थापन गर्नु फुयालका लागि चुनौती बनेको छ।

कांग्रेसको नयाँ प्रयोग

नेपाली कांग्रेसले यसपटक अघिल्लो निर्वाचनमा विजयी सन्तोष चालिसेलाई टिकट नदिई रमेश अर्याललाई अघि सारेको छ। गोकर्णेश्वर–६ का पूर्ववडाध्यक्ष अर्याल स्थानीयस्तरमा परिचित भए पनि राष्ट्रिय राजनीतिमा लो–प्रोफाइल नेता मानिन्छन्।

१३ वडामध्ये अधिकांशमा सांगठनिक प्रभाव भएकाले कांग्रेस जितप्रति आशावादी देखिए पनि चालिसेको असन्तुष्टि र पपुलर उम्मेदवारहरूको भिडले अर्यालको चुनौती बढाएको छ।

मतदाताको निर्णायक शक्ति

६४ हजार ४७९ मतदाता रहेको काठमाडौँ–३ मा जोरपाटी, बौद्ध, गोकर्णेश्वर–५, ६ र ८ निर्णायक क्षेत्र मानिन्छन्। पुराना दल, नयाँ राजनीतिक शक्ति र स्वतन्त्र उम्मेदवारबीचको यो प्रतिस्पर्धाले यस क्षेत्रलाई पुनः ‘स्विङ कन्स्टिचुएन्सी’का रूपमा स्थापित गर्ने देखिन्छ।