बारा,नेपाल आयल निगमको प्रादेशिक डिपो अम्लेखगञ्जमा आबद्ध स्वरोजगार ट्यांकर व्यवसायी र चालकहरू आन्दोलित भएका छन्। बरौनी–अम्लेखगञ्ज पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आयात सुरु भएसँगै ट्यांकरबाट हुने ढुवानी बन्द भएपछि १०४ वटा ट्यांकरलाई तत्काल आन्तरिक ढुवानीमा लगाउनुपर्ने माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
माग राख्दै ट्यांकर व्यवसायी तथा चालकहरूले बिहीबार एक घण्टासम्म डिपोमा लोड–अनलोड ठप्प पारेका थिए। पाइपलाइन सञ्चालनमा आएपछि नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको ट्यांकरमार्फत हुँदै आएको ढुवानी पूर्ण रूपमा बन्द गरेको छ।
ढुवानी बन्द भएपछि निगमले ती १०४ वटा ट्यांकरलाई काठमाडौँ, पोखरा, भैरहवा र विराटनगर विमानस्थलमा हवाई इन्धन ढुवानीका लागि प्रयोग गर्ने निर्णय गरेको छ। तर हवाई इन्धन ढुवानी अघि ट्यांकरको मर्मतसम्भार र ट्यांकी परिवर्तन गर्नुपर्ने भएकाले तीनदेखि चार महिनासम्म ग्यारेजमा पालो कुर्नुपर्ने अवस्था सिर्जना भएको चालकहरूको गुनासो छ।
अखिल नेपाल मजदुर संघका अध्यक्ष मानसिंह लामाका अनुसार लामो समयसम्म ट्यांकर थन्किँदा साना स्वरोजगार व्यवसायी र चालकहरूको रोजीरोटी नै संकटमा पर्ने अवस्था आएको छ।
‘तीन–चार महिना गाडी नचल्दा बैंकको किस्ता बुझाउनसमेत समस्या हुन्छ,’ उनले भने, ‘त्यतिबेलासम्म आन्तरिक ढुवानीमा ट्यांकर चलाउन दिनुपर्छ भन्ने हाम्रो माग हो।’
उनका अनुसार निगममा व्यवस्थापन हुन बाँकी १०४ ट्यांकरमध्ये ५० प्रतिशतभन्दा बढी अम्लेखगञ्ज क्षेत्रकै स्थानीयका हुन्। ट्यांकर चालक श्याम मगरले पहुँचका आधारमा केही ट्यांकरले एउटा पम्पको अनुमति लिएर दर्जनौं पम्पमा ढुवानी गर्ने गरेको तर आफूहरू ढुवानीबाट वञ्चित भएको गुनासो गरे।
‘निगमले जहाँ पठाउँछ, हामी जान तयार छौँ,’ मगरले भने, ‘तर मर्मतको पालो नआउँदासम्म ढुवानी गर्न पाउनुपर्यो।’
नेपाल आयल निगम अम्लेखगञ्ज डिपोमा हाल निजी पेट्रोल पम्पको ढुवानीका लागि १२७ वटा ट्यांकर आबद्ध छन्। ती ट्यांकरले मासिक ३० देखि ३२ टिपसम्म ढुवानी गर्दै आएका छन्। स्थानीय ट्यांकर व्यवसायी कृष्ण ठकुरीका अनुसार केन्द्रसम्म पटक–पटक माग राख्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर सांकेतिक रूपमा आन्दोलन गर्नुपरेको हो।
‘ट्यांकी जडान नभएसम्म गाडी नभएका पम्पमा पेट्रोलियम पदार्थ बोक्न दिनुपर्छ,’ ठकुरीले भने।
अम्लेखगञ्ज डिपोबाट हाल दैनिक करिब चार सय ट्यांकर पेट्रोलियम पदार्थ बोकेर काठमाडौँ, पोखरा, जनकपुर, भैरहवा, चितवन, वीरगञ्ज र विराटनगरतर्फ जाने गरेका छन्। डिपो प्रमुख प्रलयङ्कर आचार्यले केन्द्रको निर्देशनविपरीत कुनै निर्णय गर्न नसकिने स्पष्ट पारे।
‘केन्द्रबाट निर्णय आएमा समस्या हुँदैन,’ उनले भने, ‘तर बन्द भइसकेका ट्यांकर सञ्चालन गर्न निर्देशन छैन।’
नेपाल आयल निगमले माघ १२ गतेदेखि बरौनी–अम्लेखगञ्ज खण्डमा १०४ ट्यांकरको ढुवानी औपचारिक रूपमा बन्द गरेको हो। निगमको केन्द्रीय कार्यालयले ट्यांकर व्यवस्थापनसम्बन्धी सूचना दुई महिनाअघि नै जारी गरिसकेको जनाएको छ। डिपो प्रमुख आचार्यका अनुसार केही ट्यांकर चालकले समयमै मर्मतसम्भार नगर्दा अन्तिम समयमा ग्यारेजमा लामो पालो कुर्नुपर्ने अवस्था आएको हो।
