रामेछापमा निर्वाचन : परिवर्तनको चाहना तर छैन भरोसा

रामेछाप । रामेछाप नगरपालिका–७, सुकाजोरका डम्बरबहादुर कार्कीलाई आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले खासै छोएको छैन । उमेरले ८४ वर्ष नाघिसकेका कार्की...

रामेछापमा निर्वाचन : परिवर्तनको चाहना तर छैन भरोसा

रामेछाप । रामेछाप नगरपालिका–७, सुकाजोरका डम्बरबहादुर कार्कीलाई आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनले खासै छोएको छैन । उमेरले ८४ वर्ष नाघिसकेका कार्की २००७ सालपछिका राजनीतिक परिवर्तनका प्रत्यक्ष साक्षी हुन् । पटक–पटक भएका निर्वाचनमा भोट हालेका अनुभव भए पनि यस पटक उनीभित्र न उत्साह छ, न आशा नै।

“यो निर्वाचनले केही हुनेवाला छैन,” कार्की भन्छन्, “उही रमाइलो मात्रै हो । नेताहरू यो गर्छु, त्यो गर्छु भनेर भोट माग्न आउँछन् । जितेर गएपछि काम शून्य हुन्छ । आफ्नो दुःख आफ्नैसँग छ । जो आए पनि केही हुनेवाला छैन ।”

२००७ सालपछिका हरेक निर्वाचनमा सहभागी भए पनि भोट माग्न आउने नेताहरूले गरेका प्रतिबद्धता व्यवहारमा नउतारेको उनको गुनासो छ । नेताहरूको जीवनशैलीमा आमूल परिवर्तन आएको देखिए पनि आम नागरिकको जीवन भने उस्तै अवस्थामा रहेको कार्की बताउँछन् ।
रामेछाप नगरपालिका–७ कै युवा सचिन महतारा भने यो निर्वाचनलाई लिएर निकै उत्साहित छन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उनी पहिलो पटक मताधिकार प्रयोग गर्दै छन् । यसअघिका निर्वाचनका बेला रोजगारीका सिलसिलामा विदेशमा रहेका महतारा यस पटक भने राम्रो एजेन्डा बोकेका र युवा उम्मेदवारलाई मत दिनकै लागि स्वदेश फर्किएका हुन् ।
“पहिला पनि निर्वाचन हुन्थे, तर कहिले भोट हाल्ने चाहना जागेन, कहिले विदेशमै थिएँ,” उनी भन्छन्, “अब भने पुरानाभन्दा नयाँ र युवालाई जिताउन मेरो मत हुनेछ ।” पुराना पार्टी र पटक–पटक दोहोरिएका उम्मेदवारलाई होइन, यस पटक नयाँ पार्टी र युवा नेतृत्वलाई निर्वाचित गराएर देश विकासको अवसर दिनुपर्नेमा उनको जोड छ । उनका भन्छन्, “युवाले नेतृत्व पाए मात्र देशमा परिवर्तन सम्भव छ । अबको निर्वाचन पुराना अभ्यास तोड्ने अवसर हो ।”

मन्थली नगरपालिका–९, पुरानागाउँकी ५० बर्सिया तारादेवी श्रेष्ठलाई अहिले उदाएका नयाँ पार्टी र युवा नेताहरूमाथि पनि खासै भरोसा छैन । उनी भन्छिन्, “खै, अहिले आएका नयाँ पार्टी र युवाहरू पनि उस्तै होलान् जस्तो लाग्छ । उनीहरूबारे पनि यस्तो–उस्तो भनेर रेडियोमा समाचार सुनिन्छ । त्यसैले सबै उस्तै हुन् कि भन्ने लाग्छ ।” निर्वाचन नजिकिँदै गर्दा पनि यो निर्वाचनपछि देशको अवस्था राम्रो हुन्छ भन्ने विश्वास आफूमा नजागेको श्रेष्ठको भनाइ छ । “सबैले देशका लागि भन्दा पहिले आफ्नै स्वार्थ हेर्छन्,” उनी भन्छिन्, “त्यसैले जो आए पनि जनताको दुःख उस्तै रहने डर छ ।”

प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्रै रहेको रामेछापमा ३ जना स्वतन्त्र सहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारहरू आआफ्नो निर्वाचन चिन्ह लिएर मतदातामाझ गइरहेका छन् । यो निर्वाचनको उत्साह युवा मतदातामा बढी देखिएको छ । उमेर ढल्किसकेका मतदाताहरुले यो निर्वाचनलाई गएका निर्वाचन जस्तै आउने जाने रूपमा लिएका छन् भने युवाहरूमा यो निर्वाचनले देशमा ठुलो परिवर्तन ल्याउनले उत्साह देखिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत नारायण लामिछानेका अनुसार यो निर्वाचनमा जिल्लाभर कुल १ लाख ८७ हजार ९५२ मतदाता कायम छन् । जिल्लाभर ९६ वटा मतदान स्थल र २२८ वटा मतदान केन्द्र निर्धारण गरिएका छन् ।