काठमाडौं,रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेका संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा तत्काल फिर्ता गर्न अस्वीकार गरेको छ।
महान्यायाधिवक्ता कार्यालयले उक्त मुद्दा फिर्ता लिने निर्णय कार्यान्वयनका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत अदालतमा निवेदन पेश गरेको थियो। सो निवेदन कार्यान्वयन गर्न अदालतले अस्वीकार गरेको हो।
महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीसम्बन्धी अभियोग यथावत राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग फिर्ता लिनुपर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले रुपन्देही जिल्ला अदालतमा निवेदन दर्ता गराएको थियो।
तर अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार उक्त विषय सर्वोच्च अदालतमा रिट विचाराधीन अवस्थामा रहेकाले त्यहाँ अन्तिम टुंगो नलागेसम्म निवेदन पेश गर्न नमिल्ने आदेश भएको छ।
माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले ‘उक्त विषयमा सर्वोच्च अदालतमा परेको रिट विचाराधीन नै रहेको बुझिन आएकाले त्यससम्बन्धी अन्तरिम आदेशको विषयमा अन्तिम टुंगो लागेपछि मात्र निवेदन पेश गर्नू’ भन्ने आदेश दिएको हो।
अदालतको यस आदेशसँगै रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा हालका लागि यथावत रहने भएको छ।
