काठमाडौं, स्थानीय बजारमा सुनको मूल्य हरेक दिन नयाँ रेकर्ड बनाउँदै उकालो लागिरहेको छ। बिहीबार एक तोला सुनको मूल्य तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छ। एक वर्षअघि, २०८१ माघ १५ गते एक तोला सुनको मूल्य एक लाख ५९ हजार दुई सय रुपैयाँ थियो। यसरी हेर्दा एक वर्षको अवधिमै सुनको मूल्य एक लाख ८० हजार रुपैयाँले बढेको छ। अघिल्लो वर्ष जहाँ एक तोला सुन किन्न एक लाख ५९ हजार रुपैयाँ पर्याप्त थियो, अहिले त्यही सुन किन्न तीन लाख ३९ हजार रुपैयाँ आवश्यक परेको छ।
यसरी सुनको मूल्य अत्यधिक बढ्नुमा स्थानीय बजारको प्रभाव नगन्य रहेको व्यवसायीहरू बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार सुनको मूल्य वृद्धि मुख्यतः अन्तर्राष्ट्रिय बजारको असर हो।
नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा हरेक दिन बिहान साढे १० बजे कायम हुने प्रतिऔंस सुनको मूल्यलाई आधार मानेर तय गरिन्छ। त्यसमा वैदेशिक विनिमय दर, भन्सार शुल्क, बैंकको लागत तथा नाफा र व्यवसायीको नाफा जोडेर स्थानीय मूल्य निर्धारण गरिन्छ।
हाल नेपाल सरकारले सुन आयातमा १० प्रतिशत भन्सार शुल्क तोकेको छ। सुन आयात गर्ने वाणिज्य बैंकहरूले ०.५ प्रतिशत नाफा राख्ने गर्छन् भने सुनचाँदी व्यवसायीहरूले पनि करिब ०.५ प्रतिशत नाफा जोड्ने गर्छन्। यसका अतिरिक्त चालु आर्थिक वर्षदेखि सुनको कारोबारमा २ प्रतिशत विलासी शुल्क अनिवार्य गरिएको छ। तर यो शुल्क दैनिक दर निर्धारणमा समावेश गरिँदैन, कारोबारको क्रममा मात्र लाग्छ।
नेपालमा दैनिक सुनको मूल्य निर्धारण गर्ने जिम्मेवारी नेपाल सुनचाँदी व्यवसायी महासंघको हो। महासंघले गठन गरेको पाँच सदस्यीय दर निर्धारण समितिले अन्तर्राष्ट्रिय मूल्यका आधारमा दैनिक दर सार्वजनिक गर्छ।
सुनको मूल्य निरन्तर बढेपछि बजारमा कारोबार भने घट्दै गएको व्यवसायीहरूको अनुभव छ। लामो समयदेखि व्यवसायीहरूले बैंकबाट सुन नलिएको र बैंकमा सुन धेरै भएकाले मंसिरदेखि नयाँ सुन आयातसमेत नहुन सकेको उनीहरूको भनाइ छ।
यद्यपि तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो छ महिनामा १९ अर्ब ६७ करोड रुपैयाँ बराबरको सुन आयात भएको छ। गत वर्षको यही अवधिमा ८ अर्ब २८ करोड रुपैयाँ बराबरको मात्र सुन आयात भएको थियो।
