काठमाडौं । अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल) हाजिर जमानीमा रिहा भएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी कौशल बुढाथोकीका अनुसार सफललाई बुधबार साँझ रिहा गरिएको हो।
महान्यायाधिवक्ता सबिता भण्डारीलाई लक्षित गर्दै सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी तथा अपशब्द प्रयोग गरेको आरोपमा सफल माघ १३ गते पक्राउ परेका थिए। उनले महान्यायाधिवक्ताले विभिन्न मुद्दामा रकम लेनदेन गरी मुद्दा फिर्ता लिने गरेको आरोप लगाएका थिए।
सफलविरुद्ध कारबाही गर्न महान्यायाधिवक्ताको कार्यालयले माघ ८ गते काठमाडौं प्रहरी परिसरलाई पत्राचार गरेको थियो। सोही आधारमा प्रहरीले अनुसन्धान अघि बढाउँदै उनलाई पक्राउ गरेको थियो।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानपछि हालका लागि उनलाई हाजिर जमानीमा रिहा गरिएको हो भने थप अनुसन्धान प्रक्रिया जारी रहेको छ।
