रामेछाप । म अनन्त खड्का । मेरो घर रामेछापको उमाकुण्ड गाउँपालिका–२, बाम्तिभण्डारमा पर्छ। यहीँको पाखो जमिन, चिसो हावा र दुःखसँगै हुर्किएको मान्छे हुँ म। पहिले यहाँका धेरै जग्गा बाँझै थिए।
अहिले पनि युवाहरू रोजगारीको खोजीमा काठमाडौँ र विदेशतिर पलायन भइरहेका छन् । गाउँमा बस्नेहरूमा निराशा छ । यही अवस्था देखेर मैले सोचेँ । यदि यहीँ केही गर्न सकियो भने गाउँ बाँच्न सक्छ। त्यसै सोचले मलाई किवी खेतीतर्फ डोर्यायो।
मैले अनन्त एग्रोभेट बायोफार्म दर्ता गरेर सुरु गरेको किवी खेतीमा अहिलेसम्म करिब एक करोड रुपैयाँ लगानी भैसकेको छ। सुरुमा सबै कुरा सजिलो थिएन। बाँझो जमिन सम्याउनुप¥यो । सिँचाइको व्यवस्था गर्नुपर्यो । महँगो दरमा बिरुवा किन्नुपर्यो। एउटा बिरुवा ३५० रुपैयाँसम्म तिरेर रोपेको छु। आधा बिरुवा पछि आफैँले उत्पादन गरेँ। मल, पाइप, ट्याङ्की, मजदुरी सबै जोड्दा लगानी ठुलो भयो। तर मनमा आत्मविश्वास थियो । मेहनतले एक दिन फल दिन्छ।
अहिले मेरो तीन ठाउँमा किवी बगान छन्। फार्म करिब २ हजार मिटर उचाइमा, दुई खोलाको बिचमा छ। पानीको अभाव छैन। जिल्ला कृषि विकास कार्यालयको सहयोगमा ३ लाख लागतमा ट्याङ्की बनाएको छु। ७५ एमएमका पाइपबाट सिँचाइ प्रणाली मिलाएको छु। वार्षिक ५० गाडी गोबरमल गाउँघरमै किनेर प्रयोग गर्छु। यसले स्थानीय किसानलाई पनि आम्दानी भएको छ।
यो वर्ष करिब १० हजार किलो किवी उत्पादन भयो। केही काठमाडौँमा बेचेँ, केही गाउँमै। अहिले पनि चानचुन ४ हजार किलो किवी मेरो चिस्यान केन्द्रमा सुरक्षित छ। अहिले अफ सिजन भएकाले ३०० रुपैयाँ किलोमै घरबाट बिक्री भइरहेको छ।
काठमाडौँमा त ३५० रुपैयाँसम्म पुग्छ। सुरुमा १५० रुपैयाँ किलोमा बेचेको थिएँ। अहिले बजार आफैँ खोज्दै आउँछ। साथीभाइ, ग्राहकहरूले फोन गरेर किवी मागिरहेका छन्। माग धान्न नसक्ने अवस्थामा पुगेको छु।
सुरुमा चुनौती धेरै थिए। प्राविधिक ज्ञानको कमी, सरकारी तालिम अपुग, किवीबारे जनचेतना नहुनु । यी सबै समस्या थिए। पहिलो वर्ष फल थोरै हुँदा निराश पनि भए । तर मेरो बगान पाखो जमिनमा भएकाले किवी गुणस्तरीय मिठो र रसिलो भयो।
यही गुणस्तरले बजार बनायो। यो वर्ष एक बोटले ८० किलोसम्म फल दियो । ५० ग्रामदेखि १२० ग्रामसम्मका किवी उत्पादन भएका छन्। प्राविधिक सहयोग अझ राम्रो पाए अझै ठुला र गुणस्तरीय किवी उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने विश्वास छ।
हिमाली क्षेत्र भएकाले रोगकिरा यहाँ कमै लाग्छ। बगान छेउछाउका उत्तिसका बोट हटाएर र पानी जम्न नदिँदा समस्या घटेको छ। यसले खेती सजिलो भएको छ। मेरो उद्देश्य केवल व्यक्तिगत कमाइ मात्रै होइन। उमाकुण्डका बाँझा जग्गा हरियाली बनाउने, गाउँमा रोजगारी सिर्जना गर्ने र युवालाई गाउँ फर्काउने छ। किवी खेतीले त्यो सम्भव देखाएको छ।
आज मेरो घर खर्च यही किवीले चलेको छ। परिवारको दैनिकी, मजदुरको ज्याला, गाउँको चहलपहल सबैमा यसको असर देखिन्छ। म भन्छु सही योजना, धैर्य र मेहनत भए गाउँमै सम्भावना छ। किवी खेतीले मेरो जीवन मात्र होइन, उमाकुण्डको भविष्य पनि हरियो बनाउने आशा दिएको छ।
मैले किवी खेती सुरु गर्दा धेरैले पाखोमा फल लाग्ला र?भने । तर आज यही पाखो जमिनले मलाई वार्षिक रूपमा करोडौँ आम्दानी गर्ने सपना देखाइरहेको छ। यही विश्वासले अब मेरो परिवारको सोच नै बदलिएको छ।
मेरा छोराछोरी नै भन्छन्,“हामी बाबाको पेसा गर्छौँ, यही गाउँमै बस्छौँ।” एउटा छोरा इन्जिनियरिङ पढ्दै छ । एउटी छोरीले ब्याचलर पूरा गरिसकेकी छिन् । उनीहरूलाई अब विदेश जानु पर्दैन भन्ने आत्मविश्वास यही किवी खेतीले दिएको हो। यो मेरो लागि सबैभन्दा ठुलो खुसी हो। किवी खेतीबाट राम्रो आम्दानी मात्र होइन, सुरक्षित भविष्यको आधार पनि बनेको छ। यस फलको विशेषता नै टिपिसकेपछि दुईदेखि अढाई महिनासम्म बिग्रिँदैन। चिस्यान केन्द्रमा राखेर सही समयमा बजार पु¥याउन सकिन्छ। त्यसैले मूल्य पनि राम्रो पाइन्छ।

