मन्थलीबाट माधव ढुङ्गेलको विजय सुनिश्चित गर्न एमाले पूर्ण ऐक्यबद्ध : बुथ केन्द्रित अभियान सञ्चालन गरिने

रामेछाप । रामेछापमा नेकपा एमालेको प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुङ्गेलको विजय सुनिश्चित गर्न नेकपा एमाले मन्थली नगरपालिका कमिटीले पूर्ण ऐक्यबद्धताक...

मन्थलीबाट माधव ढुङ्गेलको विजय सुनिश्चित गर्न एमाले पूर्ण ऐक्यबद्ध : बुथ केन्द्रित अभियान सञ्चालन गरिने

रामेछाप । रामेछापमा नेकपा एमालेको प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधवप्रसाद ढुङ्गेलको विजय सुनिश्चित गर्न नेकपा एमाले मन्थली नगरपालिका कमिटीले पूर्ण ऐक्यबद्धताका साथ चुनावी अभियानमा लाग्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सोमबार मन्थलीमा सम्पन्न नगरपालिका कमिटीको विस्तारित बैठकले सूर्यध्वजाबाहक पार्टीका उम्मेदवार ढुङ्गेलको जित सुनिश्चित गर्न पालिकाअन्तर्गतका सबै वडा तथा टोल कमिटीहरू पूर्ण रूपमा क्रियाशील भएर परिचालित हुने निर्णय गरेको हो । बैठकमा बोल्दै पार्टी मन्थली नगरपालिका कमिटी अध्यक्ष रामबाबु घिमिरेले पार्टीको जुनसुकै तहमा रहेका नेता–कार्यकर्ता आफ्नै बुथ केन्द्रित भएर काम गर्नुपर्ने स्पष्ट पार्नुभयो । उहाँका अनुसार बुथ स्तरको अभियानलाई वडा कमिटीमार्फत समन्वय गरिनेछ ।

रामेछाप जिल्लाकै सबैभन्दा बढी मतदाता मन्थली नगरपालिकामा रहेका छन् । जिल्लाभर कुल १ लाख ८७ हजार ९ सय ५२ मतदाता रहेको तथ्याङ्कले यहाँको निर्वाचन रणनीतिक रूपमा महत्त्वपूर्ण रहेको देखाउँछ । बैठकमा पार्टी जिल्ला कमिटी अध्यक्ष पुरुषोत्तम कडरियाले वडा र मतदान स्थल केन्द्रित अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । उहाँले यस पटक रामेछापमा एमाले चुनाव जित्न अनुकूल परिस्थिति रहेको उल्लेख गर्दै उम्मेदवारका हिसाबले माधव ढुंगेलजत्तिकै योग्य र सक्षम उम्मेदवार अन्य दलमा नरहेको दाबी गर्नुभयो ।

अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदै पार्टी राजनीतिमा सक्रिय ढुङ्गेल एमालेभित्र बौद्धिक नेताका रूपमा परिचित रहनुभएको छ । युवाको राजनीतिक तथा आर्थिक रूपान्तरणको क्षेत्रमा उहाँसँग उल्लेखनीय अनुभव रहेको बताइन्छ । राष्ट्रिय युवा परिषद्को कार्यकारी उपाध्यक्षका रूपमा रहँदा उहाँले युवालाई अर्थतन्त्रसँग जोड्ने प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

बैठकमा उम्मेदवार ढुङ्गेलले रामेछापको आर्थिक रूपान्तरणका लागि स्पष्ट खाका आफूसँग रहेको उल्लेख गर्दै त्यसलाई नीति निर्माणमार्फत कार्यान्वयन गर्न संसद्मा पुग्न चाहेको बताउनुभयो । उहाँले रामेछापलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य गीता कार्की, बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति एवं प्रदेश कमिटी सदस्य आनन्द श्रेष्ठ, प्रदेश कमिटी सदस्य लव श्रेष्ठ, वर्तमान तथा पूर्व प्रदेश कमिटी सदस्यहरू, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू, तथा विभिन्न जनसंगठनका प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।