नेपाल–साउदीबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं। नेपाल र साउदी अरबबीच साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम...

नेपाल–साउदीबीच साधारण श्रमिकका लागि द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर

काठमाडौं। नेपाल र साउदी अरबबीच साधारण श्रमिक (General Workers) को सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यसहित द्विपक्षीय श्रम सम्झौतामा हस्ताक्षर भएको छ। साउदी अरबको राजधानी रियादमा सम्पन्न कार्यक्रममा उक्त सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संशाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गरेका हुन्।

यो सम्झौता एक दशकभन्दा लामो समयदेखिको प्रयासपछि सम्पन्न भएको हो। नेपालले २०७० सालदेखि साउदी अरबसँग श्रम सम्झौता गर्ने पहल गर्दै आएको थियो। यस अवधिमा पटक–पटक सम्झौताको मस्यौदा तयार भए पनि राजनीतिक अस्थिरता तथा अन्य कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन। गत भदौ १३ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको भए पनि भदौ २३ र २४ गतेको जनआन्दोलनपछि सरकार परिवर्तन हुँदा हस्ताक्षरमा ढिलाइ भएको थियो।

सम्झौतामा हस्ताक्षर हुनुअघि दुवै देशका श्रम मन्त्रीहरूबीच द्विपक्षीय बैठकसमेत सम्पन्न भएको थियो। बैठकका क्रममा मन्त्री भण्डारीले उक्त सम्झौताले नेपाल–साउदी अरबबीचको श्रम सहकार्यलाई थप संस्थागत र मजबुत बनाउने विश्वास व्यक्त गरे। उनले सम्झौताले नेपाली साधारण श्रमिकहरूको भर्ती प्रक्रिया पारदर्शी, न्यायोचित तथा लागत–प्रभावकारी बनाउने आधार तयार गर्ने बताए। साथै यसले साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको हकहित संरक्षण र रोजगार सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गरे।

सम्झौतामा श्रमिकहरूको सेवा सुविधा, कामको अवस्था, सामाजिक सुरक्षा, स्वास्थ्य सेवा, श्रम सम्झौता कार्यान्वयन, गुनासो व्यवस्थापन तथा श्रमिक अधिकार संरक्षणजस्ता विषयलाई प्राथमिकताका साथ समेटिएको छ। दुवै देशका कानुन, अन्तर्राष्ट्रिय श्रम मापदण्ड र आपसी समझदारीका आधारमा श्रमिकको हित सुनिश्चित गर्ने व्यवस्था गरिएको छ।

रियादस्थित नेपाली राजदूतावासका अनुसार यस सम्झौताले साउदी अरबमा कार्यरत तथा भविष्यमा रोजगारीका लागि जाने नेपाली श्रमिकहरूको सेवा सुविधा, सुरक्षा र रोजगार स्थायित्व थप मजबुत बनाउने विश्वास गरिएको छ।

हाल साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूले न्यूनतम तलब नपाएको, करारपत्र एकतर्फी रूपमा परिवर्तन गरिएको, कम्पनीले घर फर्कन नदिएको तथा उपचारमा लापरवाही गरिएको जस्ता समस्या लिएर दूतावास तथा वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेका छन्।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८१/८२ मा एक लाख ५२ हजार ५५७ जनाले (पुनः श्रम स्वीकृतिसहित) साउदी अरबका लागि श्रम स्वीकृति लिएका थिए। अघिल्लो आर्थिक वर्ष २०८०/०८१ मा यो संख्या एक लाख ४१ हजार ५०२ रहेको थियो।