उमाकुण्डमा लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सुरु, ५६ युवा सहभागी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने १२ कक्षा उत्तीर्ण युवाहरूलाई लक्षित गरी लोक सेवा आयोग नासु/पाँचौँ तह तथा शिक...

उमाकुण्डमा लोक सेवा र शिक्षक सेवा तयारी कक्षा सुरु, ५६ युवा सहभागी

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकाले गाउँपालिकाभित्र स्थायी रूपमा बसोबास गर्ने १२ कक्षा उत्तीर्ण युवाहरूलाई लक्षित गरी लोक सेवा आयोग नासु/पाँचौँ तह तथा शिक्षक सेवा आयोग ९प्रावि÷निमावि० को तयारी कक्षा सुरु गरेको छ । गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत सुरु गरिएको कक्षा सरस्वती पूजाको पावन अवसर पारेर भर्चुअल माध्यमबाट उद्घाटन गरिएको हो ।

कक्षाको शुभारम्भ गर्दै उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले युवाहरूको क्षमता अभिवृद्धि गर्दै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले यस्ता तयारी कक्षालाई प्राथमिकतामा राखिएको बताए । प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन निरन्तर मेहनत, अनुशासन र सकारात्मक सोच आवश्यक हुने उनको भनाइ छ । उनले गाउँमै बसेर लोक सेवा तथा शिक्षक सेवाको तयारी गर्न सकिने वातावरण निर्माण गरिएको उल्लेख गर्दै प्रविधिमैत्री र व्यवहारिक कक्षामार्फत युवालाई सफल बनाउने लक्ष्य रहेको बताए ।

गाउँपालिका उपाध्यक्ष सावित्री सुनुवारले शिक्षित र सक्षम जनशक्ति नै गाउँपालिकाको समृद्धिको आधार भएको बताउँदै स्थानीय तहबाटै युवालाई लोक सेवा तथा शिक्षक सेवामा प्रवेश गराउने उद्देश्यसहित अनलाइन तथा समयमैत्री कक्षा सञ्चालन गरिएको स्पष्ट पारिन् ।

स्थानीय तहमै सक्षम, दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने उद्देश्यले सुरु गरिएको यस कार्यक्रमलाई युवाहरूले सकारात्मक रूपमा लिएका छन् । अधिकांश सहभागी युवा विभिन्न सेवामा आबद्ध रहेकाले उनीहरूको समय व्यवस्थापनलाई ध्यानमा राख्दै कक्षा मुख्य रूपमा अनलाइन माध्यमबाट सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । बिहान र बेलुका दुवै समयमा कक्षा सञ्चालन हुने व्यवस्था गरिएको छ ।

तयारी कक्षा इत्त्क्ष्क् प्रणालीमार्फत सञ्चालन हुनेछ । यस प्रणालीबाट अनलाइन कक्षा, अध्ययन सामग्री, नोटहरू तथा रेकर्ड गरिएको भिडियो उपलब्ध गराइनेछ । साथै मासिक परीक्षणमार्फत परीक्षामुखी अभ्यासलाई जोड दिइनेछ । लोक सेवा तथा शिक्षक सेवा आयोगको परीक्षा सम्पन्न नहुँदासम्म कक्षा निरन्तर सञ्चालन हुनेछ ।

लोक सेवा तर्फ ३२ जना र शिक्षक सेवा तर्फ २४ जना गरी जम्मा ५६ जना युवाहरू तयारी कक्षामा सहभागी रहेका छन् । अनुभवी प्रशिक्षकहरूको मार्गदर्शनमा सञ्चालन हुने यस कक्षाले युवाहरूको ज्ञान, आत्मविश्वास र प्रतिस्पर्धी क्षमता वृद्धि गर्ने अपेक्षा गरिएको छ । तयारी कक्षाका लागि गाउँपालिकाले १५ दिने सूचना आह्वान गरी आवेदन संकलन गरेको थियो ।