रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रामेछापमा मनोनयन दर्ता गराएका कुनै पनि उम्मेदवारविरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारविरुद्ध उजुरी दिने समय बुधवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको थियो । कार्यालयका अनुसार तोकिएको समय अवधिभित्र कुनै पनि उजुरी परेन । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालका अनुसार मनोनयन पत्रमाथि जाँचबुझ गरी माघ ८ गते बिहीबार बेलुका ५ देखि ७ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको रामेछापमा १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाबाट महिला उम्मेदवार भने एक मात्र परेको छ । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट केसरी श्रेष्ठले उम्मेदवारी दर्ता गराएकी हुन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वतन्त्र उम्मेदवारका रूपमा अरुण कार्की, बाबु काँजी खड्का र सन्तोष घिमिरेले मनोनयन दर्ता गराएका छन् ।
नेपाली काँग्रेसबाट रामचन्द्र खड्का, नेकपा (एमाले) बाट माधवप्रसाद ढुङ्गेल, नेपाली कम्युनिस्ट पार्टीबाट श्यामकुमार श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट डा. कृष्णहरि बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् ।
यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट गोरे तामाङ, राष्ट्रिय जनमोर्चाबाट अर्जुनबहादुर थापा मगर, श्रम संस्कृति पार्टीबाट ढालबहादुर खपाङ्गी मगरले मनोनयन दर्ता गराएका छन् ।
नेशनल रिपब्लिक पार्टीबाट यमबहादुर मोक्तान, उज्यालो नेपाल पार्टीबाट दीपबहादुर योञ्जन, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट वीरेन्द्र श्रेष्ठ, आम जनता पार्टीबाट पदमबहादुर तामाङ, मङ्गोल नेशनल अर्गनाइजेसनबाट विनोद घिसिङ तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट यमुनबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् ।
