रामेछाप । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा उम्मेदवार मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिएको छ। मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले सोमबार दिउँसो कार्यतालिका सार्वजनिक गरेका हुन् ।
कार्यतालिका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म जिल्ला अदालत रामेछापको परिसरभित्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गरिने छ ।
मनोनयन दर्ता प्रक्रिया सरल, सहज, व्यवस्थित र सुरक्षित बनाउन जिल्लामा क्रियाशील राजनीतिक दलहरूलाई तोकिएको समयमै उपस्थित भई सहकार्य गर्न आग्रह गरिएको छ। सार्वजनिक समय तालिका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बिहान १०:३० देखि ११:३०, नेपाली कम्युनिष्ट पार्टीलाई ११:३० देखि १२:३०, राष्ट्रिय स्वतन्त्र पार्टीलाई १२:३० देखि १:३०, नेकपा एमालेलाई १:३० देखि २:३०, उज्यालो नेपाल पार्टीलाई २:३० देखि ३:३० र नेपाली काँग्रेसलाई अपराह्न ४ बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।
मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले अन्य राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूका लागि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म जुनसुकै समयमा मनोनयन दर्ता गर्न सकिने बताए।
उनले सबै सरोकारवाला पक्षलाई निर्वाचन प्रक्रिया सफल बनाउन सहकार्य गर्न अनुरोध गरेका छन्।
