रामेछापमा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

रामेछाप । रामेछापका राजनीतिक दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्। आइतबार जिल्ला प्रशासन कार्यालय...

रामेछापमा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता

रामेछाप रामेछापका राजनीतिक दलहरूले आगामी प्रतिनिधिसभा निर्वाचनमा निर्वाचन आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

आइतबार जिल्ला प्रशासन कार्यालय रामेछापमा आयोजित निर्वाचन आचारसंहिता सम्बन्धी सरोकारवाला निकायबिचको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपा, उज्यालो नेपाललगायत दलका प्रमुख तथा प्रतिनिधिहरूले आचारसंहिता कार्यान्वयनमा पूर्ण सहकार्य गर्ने बताएका हुन्।

नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले सबै दलको सहमतिमा निर्वाचन आयोगले तयार पारेको आचारसंहिता पालना गर्न काँग्रेस प्रतिबद्ध रहेको बताए। नेकपा एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले एमालेले आचारसंहिता पूर्ण कार्यान्वयन गर्ने स्पष्ट पारे। उनले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि सरकारले अझै पर्याप्त सुरक्षा ग्यारेन्टी दिन नसकेको गुनासो गरे।

नेपाली कम्युनिष्ट पार्टीका नेता हेमन्त पौडेल (निकास) ले ठुला दलमाथि हरेक निर्वाचनमा आचारसंहिता उल्लङ्घनको आरोप लाग्दै आएको उल्लेख गर्दै यस पटक सबै दल सचेत हुनुपर्नेमा जोड दिए।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आचारसंहिता पढ्ने र लेख्ने मात्रै नभई कार्यान्वयन मुख्य विषय भएको बताए। आचारसंहिता उल्लङ्घन गरे एक लाख रुपैयाँसम्म जरिवाना, उम्मेदवारी रद्दसम्मको व्यवस्था रहेकाले कडाइका साथ अनुगमन गरिने उनको भनाइ थियो।

मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश राजेन्द्र नेपालले निर्वाचन आयोगको कार्य तालिका अनुसार निष्पक्ष निर्वाचन सम्पन्न गराउन सबै पक्षको सहयोग आवश्यक रहेको बताए।

कार्यक्रममा जिल्ला निर्वाचन अधिकृत नारायण लामिछानेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि लागू आचारसंहिता बारे जानकारी गराएका थिए।

अन्तरक्रियामा सहभागीहरूले विगतका निर्वाचनमा ठुला दलबाट बढी मात्रामा आचारसंहिता उल्लङ्घन भएको भन्दै यस पटक पनि त्यस्तै हुने हो कि भन्ने आशंका व्यक्त गरेका थिए।