दोलखाबाट नेकपाको टिकट विशाल खड्कालाई, प्रतिनिधिसभा निर्वाचनमा युवा नेताको पुनरागमन

दोलखा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दोलखा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता विशाल खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका संय...

दोलखाबाट नेकपाको टिकट विशाल खड्कालाई, प्रतिनिधिसभा निर्वाचनमा युवा नेताको पुनरागमन

दोलखा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले दोलखा जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनका लागि युवा नेता विशाल खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज खड्कालाई आधिकारिक टिकट प्रदान गरेका हुन् ।

एकमात्र निर्वाचन क्षेत्र रहेको दोलखाबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा खड्का चुनावी मैदानमा उत्रिने भएका छन् । यसअघि बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री समेत रहिसकेका खड्का दोलखामा लोकप्रिय र विकासमुखी नेताका रूपमा परिचित छन् ।
खड्का २०७४ सालमा प्रदेशसभा सदस्यमा विजयी भई वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।

मन्त्री बनेपछि उनले जिल्लामा सडक, पर्यटन, वन संरक्षण तथा पूर्वाधार विकासका उल्लेखनीय काम अघि बढाएका थिए । २०७० सालमा उनी दोलखा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने पनि पराजित भएका थिए । तर, संघीयता कार्यान्वयनपछि तत्कालीन माओवादी केन्द्र र एमालेको गठबन्धनबाट बागमती प्रदेशसभा सदस्यमा निर्वाचित हुँदै पुनः राजनीतिक यात्रामा उदाएका थिए ।

नेकपा दोलखाले प्रतिनिधिसभा उम्मेदवारका लागि खड्कासहित गोपाल न्यौपाने र नरबहादुर पाख्रिनको नाम सिफारिस गरे पनि अन्ततः पार्टीले खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गौरीशंकर गाउँपालिका स्थायी घर भएका खड्का शहीद परिवारका सदस्य हुन् । जनयुद्धका क्रममा उनका दाजु, नेकपा माओवादीका केन्द्रीय सदस्य रितबहादुर खड्का शहीद भएका थिए । स्वयं खड्काले पनि जनयुद्धकालमा करिब आठ वर्ष जेल जीवन बिताएका थिए । पार्टीको टिकटसँगै खड्काको उम्मेदवारीलाई दोलखामा निर्णायक प्रतिस्पर्धाको रूपमा हेरिएको छ ।