फागुन २१ को निर्वाचन सुरक्षाका लागि बागमती प्रदेश प्रहरीलाई ३० मोटरसाइकल हस्तान्तरण

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले बिहीबार आयोजित विशेष...

फागुन २१ को निर्वाचन सुरक्षाका लागि बागमती प्रदेश प्रहरीलाई ३० मोटरसाइकल हस्तान्तरण

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश प्रहरी कार्यालय हेटौंडालाई ३० वटा मोटरसाइकल हस्तान्तरण गरेको छ । मुख्यमन्त्री ईन्द्रबहादुर बाँनियाले बिहीबार आयोजित विशेष समारोहमा प्रदेश प्रहरी नायब महानिरीक्षक अरुण पौडेललाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट उपलब्ध गराइएको ९० लाख ७० हजार रुपैयाँ बराबरको बजेटबाट प्रदेश प्रहरी कार्यालयले ३० वटा टीभीएस मोटरसाइकल खरिद गरेको हो ।

कार्यक्रममा मुख्यमन्त्री बाँनियाले आगामी फागुन २१ गते हुने निर्वाचनको सुरक्षा व्यवस्थापनलाई सहज बनाउन यी मोटरसाइकल उपयोगी हुने विश्वास व्यक्त गरे । जेन–जी आन्दोलनका क्रममा प्रहरीका केही सवारी साधन क्षतिग्रस्त भएकाले उत्पन्न समस्या समाधानमा यी मोटरसाइकल महत्वपूर्ण हुने उनले बताए ।

बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले प्रदेश सरकारले प्रहरीका लागि हरेक वर्ष भवन निर्माण तथा आवश्यक पूर्वाधार विकासमा आर्थिक सहयोग गर्दै आएको जानकारी दिए । प्रदेश प्रमुख सचिव बाबुराम अधिकारीले जेन–जी आन्दोलनपछि सुरक्षा निकायमा सवारी साधनको अभाव देखिएको समयमा मोटरसाइकल हस्तान्तरणले सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने बताए ।

प्रदेश प्रहरी नायब महानिरीक्षक अरुण पौडेलले प्राप्त दुई पांग्रे सवारी साधन प्रदेशका विभिन्न जिल्लाका प्रहरी कार्यालयमा वितरण गरिने जानकारी दिए । साथै उनले आगामी दिनमा चार पांग्रे सवारी साधन उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह गरे ।