काठमाडौँ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ। प्रत्येक वर्ष माघ १ गते मनाइने यस पर्वसँगै सूर्य उत्तरायण प्रवेश गर्ने भएकाले दिन क्रमशः लामा र रात छोटा हुँदै जान्छन्। धार्मिक विश्वासअनुसार उत्तरायण सुरु हुने दिन स्नान, जप, तप, ध्यान, व्रत तथा दानलाई अत्यन्त पुण्यदायी मानिन्छ।
यसै कारण आज देवघाट, त्रिशूली, कालीगण्डकी, बागमती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका नदी तथा तीर्थस्थलहरूमा माघ स्नान गर्ने भक्तजनको ठूलो भीड लागेको छ। ती स्थानहरूमा आज विशेष मेलासमेत आयोजना गरिएको छ। तराई क्षेत्रमा माघ १ गतेलाई ‘नहान’ अर्थात् नुहाउने पर्वका रूपमा मनाउने चलन छ। वर्षभर नुहाउने वातावरण नमिल्ने तराईवासीले पनि आजको दिन अनिवार्य रूपमा स्नान गर्नुपर्ने धार्मिक मान्यता राख्छन्।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने जनविश्वास छ। धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार धर्मसिन्धु ग्रन्थमा माघ १ गते घ्यू, चाकु, तिलका परिकार र खिचडी नखाने, दान नगर्ने, जलाशयमा स्नान नगर्ने तथा ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको छ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो र खिचडी खाने चलन छ। चिसो मौसममा शरीरलाई न्यानो राख्ने यी परिकारले त्रिदोष नाश गर्ने आयुर्वेद चिकित्सकहरूको भनाइ छ। विभिन्न स्थानमा पुस महिनाको अन्तिम दिन पकाएर राखिएको तरुल माघमा खाने परम्परा रहेको छ, जसलाई ‘पुसमा पाके, माघमा जाके’ भन्ने उखानका रूपमा पनि प्रयोग गरिन्छ। आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कने र नाडी, स्नायुमण्डल तथा हड्डी सुदृढ हुने आयुर्वेद शास्त्रीय मान्यता छ।
सूर्य उत्तरायण भएपछि हुने मृत्युलाई धार्मिक रूपमा उत्तम मानिन्छ। महाभारत युद्धका पात्र भीष्म पितामहले इच्छा मृत्युको वरदानअनुसार सूर्य उत्तरायण भएपछि मात्र शरीर त्यागेको धार्मिक कथन छ। माघे सङ्क्रान्तिका अवसरमा भक्तपुरस्थित तिलमाधव नारायणस्थानमा पनि विशेष मेला लाग्ने गर्दछ।
माघ महिनामा माघ माहात्म्यको विशेष महत्व रहेको छ। स्कन्द पुराणअन्तर्गत केदारखण्डको कुमार र अगस्त्यबीच भएको संवाद अर्थात् स्वस्थानी व्रतकथा पौष शुक्ल पूर्णिमादेखि सुरु भई माघ शुक्ल पूर्णिमासम्म सुनिने र सुनाइने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष पौष शुक्ल पूर्णिमा अर्थात् पुस १९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको छ। यो व्रत गर्ने श्रद्धालुले चान्द्रमासअनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजाआराधना गर्ने भएकाले यसलाई माघस्नान पनि भनिन्छ।
माघे सङ्क्रान्तिका अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय कृषि जैविक विविधता दिवस पनि मनाउँदै आएको छ। माघ १ गते तरुल, सखरखण्ड, पिँडालु, वनतरुलजस्ता कन्दमूलको सेवन गरिने परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले गत वर्षदेखि यो दिवस मनाउन थालिएको हो।
