विशेष महाधिवेशनपछि कांग्रेस दुई धारमा, गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिक संघर्ष औपचारिक विभाजनको चरणमा प्रवेश गरेको छ। पार्टीको विशेष महाधिवेशनले गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय...

विशेष महाधिवेशनपछि कांग्रेस दुई धारमा, गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय समिति

काठमाडौँ । नेपाली कांग्रेसको आन्तरिक राजनीतिक संघर्ष औपचारिक विभाजनको चरणमा प्रवेश गरेको छ। पार्टीको विशेष महाधिवेशनले गगन कुमार थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गरेसँगै कांग्रेस दुई धारमा विभाजित बनेको हो। आइतबार मध्यराति निर्वाचन समितिका संयोजक सीताराम केसीले पदाधिकारीसहितको पूर्ण केन्द्रीय कार्यसमिति सार्वजनिक गरेका हुन्।

विशेष महाधिवेशन प्रतिनिधिहरूको मागअनुसार गगन थापा सर्वसम्मत रूपमा पार्टी सभापतिमा चयन भएका छन्। निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले पार्टीमा देखिएको नेतृत्व संकट, आन्तरिक असन्तुलन र विधानको व्याख्यामा उत्पन्न विवाद समाधानका लागि नयाँ नेतृत्व आवश्यक रहेको निष्कर्ष निकालेका थिए।

पदाधिकारीमा समावेशी नेतृत्व

नयाँ कार्यसमितिअन्तर्गत उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुषाल चयन भएका छन्। महामन्त्रीमा प्रदिप पौडेल र गुरु राज घिमिरे नियुक्त भएका छन्। सह–महामन्त्री पदमा पार्टी विधानअनुसार समावेशी संरचनालाई प्राथमिकता दिइएको छ।

महिला सह–महामन्त्रीमा डा. डिला संग्रौला पन्त चयन भएकी छन्। दलिततर्फ प्रकाश रसाईली स्नेही, आदिवासी जनजातितर्फ बहादुर सिंह लामा, खसआर्यतर्फ उदय शम्शेर राणा, मधेशीतर्फ मुक्ता कुमारी यादव, मुस्लिमतर्फ फर्मुल्ला मन्सुर, थारुतर्फ योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रतर्फ कर्ण बहादुर बुढा सह–महामन्त्री बनेका छन्।

केन्द्रीय सदस्य चयन प्रक्रिया

नयाँ केन्द्रीय कार्यसमितिमा खुला कोटाबाट ३५ जना केन्द्रीय सदस्य चयन भएका छन्। महिला खुला कोटाबाट नौ जना केन्द्रीय सदस्य चयन गरिएको छ। यस्तै, प्रदेशगत संरचनाअनुसार कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट महिला तथा खुला कोटामा केन्द्रीय सदस्य चयन भएका छन्।

दलित, आदिवासी जनजाति, खसआर्य, मधेशी, मुस्लिम, थारु, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा पिछडिएको क्षेत्रका कोटाबाट पनि केन्द्रीय सदस्य चयन गरिएको निर्वाचन समितिले जनाएको छ। यसले पार्टीमा समावेशी प्रतिनिधित्वलाई संस्थागत गर्ने प्रयास भएको दाबी गरिएको छ।

निष्काशन निर्णय खारेज

यसअघि बुधबार बसेको शेरबहादुर देउवा पक्षको केन्द्रीय समिति बैठकले गगन थापासहित तीन नेतालाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई विशेष महाधिवेशनले अवैधानिक ठहर गर्दै खारेज गरेको छ। महाधिवेशन प्रतिनिधिहरूले विधान र लोकतान्त्रिक अभ्यासविपरीत गरिएको भन्दै निष्काशनको निर्णय अस्वीकार गरेका हुन्।

आधिकारिकतामा विवाद चर्किने संकेत

विशेष महाधिवेशनको निर्णयसँगै नेपाली कांग्रेस औपचारिक रूपमा दुई समूहमा विभाजित भएको देखिएको छ। एकातर्फ शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय समिति र अर्कोतर्फ गगन थापाको नेतृत्वमा गठित नयाँ कार्यसमिति दुवैले आफू नै वैधानिक र आधिकारिक दाबी गर्ने संकेत देखिएका छन्।

पार्टीको नाम, चुनाव चिन्ह, संसदीय दल तथा संगठनात्मक संरचनाको आधिकारिकताबारे अब कानुनी र राजनीतिक विवाद सतहमा आउने देखिएको छ। यसले आगामी निर्वाचन, संसदीय गतिविधि र सरकार गठन प्रक्रियामा समेत प्रभाव पार्ने विश्लेषकहरूको भनाइ छ।

पार्टी भविष्यमा अनिश्चितता

नेपाली कांग्रेस लामो समयदेखि आन्तरिक गुटबन्दी र नेतृत्व विवादमा अल्झिँदै आएको थियो। पछिल्लो घटनाक्रमले पार्टीको संगठनात्मक एकता, जनविश्वास र राजनीतिक स्थायित्वमा गम्भीर प्रश्न खडा गरेको छ। अब कांग्रेस कुन दिशातर्फ जाने हो भन्ने विषय आगामी राजनीतिक घटनाक्रमले निर्धारण गर्ने देखिन्छ।