उमाकुण्डमा चारदिने निःशुल्क स्वास्थ्य शिविर : झन्डै १२ सयले लिए सेवा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ स्थित कास्थेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको चार दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार १७७ जना नागरिकले स्वास्थ...

उमाकुण्डमा चारदिने निःशुल्क स्वास्थ्य शिविर : झन्डै १२ सयले लिए सेवा

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ स्थित कास्थेम माध्यमिक विद्यालयमा सञ्चालन गरिएको चार दिने निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार १७७ जना नागरिकले स्वास्थ्य सेवा लिएका छन्।

कादुरी एग्रीकल्चरल एड एसोसिएसन (बीटिस गोर्खाज नेपाल), पोखरा–१६ कास्कीको आयोजनामा तथा उमाकुण्ड गाउँपालिकाको समन्वय र सहजीकरणमा सञ्चालन भएको शिविरमा पहिलो दिन २९९, दोस्रो दिन २७६, तेस्रो दिन ३४२ र अन्तिम दिन २६० जनाले सेवा लिएका हुन्। सेवाग्राहीमध्ये ६९४ महिला र ४८३ पुरुष रहेका छन्।

शिविरमार्फत ७५ जनाको मोतीबिन्दु शल्यक्रिया गरिएको छ। साथै स्त्रीरोग परीक्षण तथा उपचार, आँखा जाँच, दाँत उपचार तथा आवश्यक परे दाँत निकाल्ने सेवा, सामान्य स्वास्थ्य परीक्षण, रगत तथा दिशा–पिसाब परीक्षण, मुटुको ईसीजी, भिडियो एक्स–रे जाँच तथा चिकित्सकको सल्लाहअनुसार निःशुल्क औषधि वितरण गरिएको थियो।

पुस २७ गतेदेखि ३० गतेसम्म सञ्चालन भएको यस शिविरले दुर्गम क्षेत्रका नागरिकलाई घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।