रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–७ स्थित कास्थेम माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको चार दिने निःशुल्क स्वास्थ्य शिविरबाट दुई दिनमै ५७५ जनाले स्वास्थ्य सेवा लिएका छन् ।
पहिलो दिन शनिबार २९९ जना र दोस्रो दिन आइतबार २७६ जनाले सेवा लिएको आयोजक कादुरी एग्रीकल्चरल एड एसोसिएसन (बीटिस गोर्खाज नेपाल), पोखरा–१६ कास्कीले जनाएको छ ।
उमाकुण्ड गाउँपालिकासँगको समन्वय तथा सहजीकरणमा मंगलबारसम्म सञ्चालन हुने शिविरमा स्त्रीरोग सम्बन्धी जाँच तथा उपचार, आँखा परीक्षण, मोतीबिन्दु शल्यक्रिया, दाँत उपचार तथा आवश्यक परे दाँत निकाल्ने सेवा उपलब्ध गराइएको छ ।
साथै सामान्य स्वास्थ्य परीक्षण, रगत तथा दिशा–पिसाब परीक्षण, मुटुको इ.सी.जी, भिडियो एक्स–रे जाँच तथा चिकित्सकको सल्लाहअनुसार निःशुल्क औषधि वितरण भइरहेको आयोजकले जनाएको छ ।
दुर्गम क्षेत्रका नागरिकलाई सहज र निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरबाट स्थानीय सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
यसैबीच, आइतबार उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले स्वास्थ्य शिविरको अनुगमन निरीक्षण गरेका छन् । दुर्गम क्षेत्रमा पुगेर सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेकोमा उनले आयोजक टोलीलाई धन्यवाद व्यक्त गरे ।

