हिमाली पालिका उमाकुण्डमा बाल विकास शिक्षकका लागि ५ दिने आवासीय तालिम

रामेछाप । रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्डमा प्रारम्भिक बाल विकास शिक्षालाई सुदृढ बनाउने उद्देश्यले ५ दिने बाल विकास शिक्षकको आवासीय तालिम सम्पन्न भए...

हिमाली पालिका उमाकुण्डमा बाल विकास शिक्षकका लागि ५ दिने आवासीय तालिम

रामेछाप रामेछापको दुर्गम हिमाली गाउँपालिका उमाकुण्डमा प्रारम्भिक बाल विकास शिक्षालाई सुदृढ बनाउने उद्देश्यले ५ दिने बाल विकास शिक्षकको आवासीय तालिम सम्पन्न भएको छ। गाउँपालिकाले यही पुस १९ गतेदेखि २३ गतेसम्म सञ्चालन गरेको तालिममा ४० जना बाल विकास शिक्षकहरूको सहभागिता रहेको थियो।

शिक्षाको सबैभन्दा आधारभूत र महत्त्वपूर्ण चरण मानिने प्रारम्भिक बाल विकासलाई प्रभावकारी बनाउने लक्ष्यसहित सञ्चालन गरिएको आवासीय तालिमले सहभागी शिक्षकहरूलाई आपसी अनुभव साटासाट गर्ने अवसर मिलेको र पेसागत क्षमता थप मजबुत बनेको गाउँपालिकाका शिक्षा अधिकृत ङावा शेर्पाले जानकारी दिए।

तालिममा बालमैत्री शिक्षण विधि, खेल तथा सिर्जनात्मक गतिविधिमार्फत सिकाइ, बालबालिकाको मनोविज्ञान बुझ्ने तरिका, कक्षाकोठा व्यवस्थापन, विद्यार्थी मूल्याङ्कन तथा बिना खर्च वा कम खर्चमा शैक्षिक सामग्री निर्माण जस्ता विषयमा व्यवहारिक र जीवनोपयोगी ज्ञान प्रदान गरिएको थियो।

प्रारम्भिक बाल विकास नै सक्षम, सृजनशील र जिम्मेवार नागरिक निर्माणको आधार भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले दुर्गम हिमाली क्षेत्रका बालबालिकालाई सानै उमेरदेखि गुणस्तरीय शिक्षा र उपयुक्त सिकाइ वातावरण सुनिश्चित गर्न शिक्षामा उच्च प्राथमिकताका साथ लगानी गरिँदै आएको बताए। उनले आगामी दिनमा पनि शिक्षक क्षमता अभिवृद्धिका कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

माण्टेश्वरी सिकाइ केन्द्रका प्रशिक्षक बबिता कार्की र फुर्लाकी शेर्पाले सहजीकरण गरेको तालिममा सहभागी शिक्षकहरूले सिकाइलाई अझ रमाइलो, सुरक्षित र प्रभावकारी बनाउने नयाँ–नयाँ तरिका सिक्न पाएको बताउँदै प्राप्त ज्ञान व्यवहारमा लागू गर्ने प्रतिबद्धता जनाएका छन्।